स्मिथ रजक
रौतहट कार्तिक ७गते
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई. राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू माथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूबाट कार्तिक ४ गतेका दिन गरिएको अमानवीय व्यवहार प्रति नेशनल इन्जिनियर एशोसिएशन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
राष्ट्र सेवक कर्मचारी माथि गरिएको दुर्ववहार अपराधजनक, देशमा उदण्डता, अराजकताको पराकाष्टको कदम चालिएको हो । तसर्थ देश विधिको शासनमा चल्ने र सो विधिलाई पालना गर्दै जनसेवामा दिनरात खटिएका राष्ट्र सेवक कर्मचारी प्रतिको अमर्यादित ढङ्ग्ले घटाईएको घटनामा संलग्न असमाजिक तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग नेशनल इन्जिनियर एशोसिएशन नेपालले आईतवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेशनल इन्जिनियर एशोसिएशन नेपालका जिल्ला (ने.अ.न.) अध्यक्ष ई.अभिषेक कुमार गुप्ता र महा सचिव ई.आलोक साहको नेतृत्वमा अरुन यादव, अजय यादव, रवि यादव, रन्जित यादव, नवीन यादव, राजु साह, बिरेन्द्र ठाकुर, सतिश पन्डित, रन्धिर साह र अनिल यादव समेतको सभागितामा सो ज्ञापनपत्र बुझाएको छ ।
जनमत पार्टीका नेता कार्यकर्ताहरू द्वारा राष्ट्र सेवक कर्मचारी माथिको दुर्ववहार र यस्तो अन्य कुनै अमानवीय घटना राष्ट्र सेवक कर्मचारीहरू माथि जिल्लाको कुनै पनि स्थानमा भए वा दोहोरिने शंका समेत लागेमा सिधै जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराउनु र त्यस्तालाई कडा भन्दा कडा कानुनी दायरामा ल्याइ कारबाहि अगाडि बढाउन तयार रहेको कुरा प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुका साथै प्रतिबद्धता समेत गर्नु भएका छ्न ।