राजेश पासवान।फागुन १२।रौतहट।
आगामी बैशाख ३० हुन गइरहेको स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनीधित्व बढाउन रौतहटको गरुडा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
दलित सरोकार मञ्चले आयोजना गरेको राष्ट्रिय दलित पत्रकार संघ रौतहट शाखाको सहकार्यमा रौतहटको गरुडा स्थित आशिर्वाद गेष्ट हाउसको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलहरुले दलितको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला कमिटी स.सचिव रुपेश पटेल ले सदियौँदेखि उपेक्षित दलित समुदायलाई लोकतान्त्रिक पार्टी नेकपा एमाले ले अवसर दिँदै आएको बताएका छन् ।
त्यसैगरी नेकपा एकीकृत समाजवादी का मधेश प्रदेश सदस्य मोहम्मद कलिमुल्लाह ले दलित समुदायलाई हालसम्मको उपलब्धि बिभिन्न आन्दोलनबाट नै प्राप्त भएको र थप अधिकार प्राप्त गर्न अझ जागरुक हुन आवश्यक भएको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले दलितहरुको संख्याको अधारमा वडादेखि पालिकासम्मको अधिवेशन सम्पन्न भएको जानकारी पनि दिनुभएको छ ।
यस्तै जनता समाजवादी पार्टीका जिल्ला कमिटीका उपाध्यक्ष रामेश्वर राय यादवले रौतहट जिल्लामा रहेका दलित समुदायको संख्या पत्रकारहरुले प्रकाशन गरिदिए त्यहि अनुसार आउँदो स्थानीय तहको चुनावमा दलित समुदायलाई अवसर दिने घोषणा गर्नुभएको छ । साथै यसअघि पनि दलित समुदायबाट उम्मेदवार बनाउन पार्टी पछि नपरेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि दलित उम्मेदवारको संख्यामा वृद्धि गर्ने दृढता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका दलित भातृ संगठनका अध्यक्ष रबिन्द्र पासवानले दलित समुदायलाई दलितले नै सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । दलित समुदाय अशिक्षाको कारण आफ्नो मत बिक्री गर्ने गरेकोले दलित समुदाय पछाडि परेको समेत बताउदै दलित समुदायको हरेक समस्याको समाधान नेपाली कांग्रेसमा हुनु भएकोले दलित समुदायको अर्को कुनै विकल्प न रहेको बताउनुभयो।
त्यसैगरी दलितका अगुवा तथा जनता समाजवादी पार्टीका नेता पुनित रामले दलित समुदायको ठूलो बाहुल्यता हुदाहुदै पनि दलित समुदाय प्रतिनिधित्व विहिन रहेकोले अब दलितहरुलाई जागरुक भएर अगाडि बढ्न र कुनै पनि पार्टी लाग्दा नेतृत्व लिन सक्ने आँट गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न दलका निकट दलित भातृ संगठनका प्रमुख एवम् प्रतिनिधिहरुले आआफ्नो क्षेत्रका समस्याहरु सुनाएका थिए । भने सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि हरु आगामी चुनावमा दलित समुदायलाई प्रतिनिधित्व गराउने प्रतबद्धता समेत गरेका थिए।
कार्यक्रममा पाटन क्याम्पसका सहप्राध्यापक तथा नेपाली पत्रकार महासंघका पुर्व अध्यक्ष डा. बिजय प्रसाद मिश्रले प्रशिक्षण दिनु भएको थियो । र कार्यक्रमको राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखा अध्यक्ष राजेश पासवान ले गर्नुभएको थियो ।