रौतहट, पुस,१५ गते
वीरगञ्ज । सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज वीरगञ्ज भन्सार कार्यालय गेट अगाडि खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो ।
पर्साको बहुदरमाई गाउँपालिका वडा नम्बर ३, नगरदाहाका ३६ वर्षीय मिश्री रामलाई भारतबाट पैदलै टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ हवल्दार सुनिल पाण्डेको नेतृत्वमा खटिएको टोलीले तलासी गर्दा बोराभित्र प्रतिबन्धित लागुऔषध फेला परेको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए । फेला परेका लागुऔषधमा डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नुर्फिन २९७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ४९७ एम्पुल रहेको धिमालले बताए ।
सशस्त्र प्रहरी उपरीक्षक धिमालका अनुसार, सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निरन्तर सक्रिय छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी बल निरन्तर प्रतिबद्ध रहेको उनको भनाई छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।