रौतहट २०८१ माघ २०
रौतहटको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ९निर्माणी विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै दलित सरोकार मञ्च नेपालले भर्त्सना गरेको छ। मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रेस विज्ञप्ति जारी गर्दै जातीय भेदभावविरुद्ध संघर्षरत एक अभियन्तामाथि झूटा आरोप लगाएर फसाउन खोजिएको गम्भीर षड्यन्त्र भएको बताएका छन्।
२०७९ सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुर्व्यवहार र आक्रमणका दोषीहरू अझै पनि कानूनी कारबाहीबाहिर रहेका बेला, उनीहरूकै दबाबमा प्रहरीले पीडितलाई नै अपराधी बनाउन खोजेको सरोकार मञ्चले जनाएको छ। गत २०८१ मंसिर १९ गते वृन्दावन८, बहुअरी गाउँमा पोखरी विवादका क्रममा पुनः आक्रमणमा परेका पासवानमाथि झूटा मुद्दा लगाइनु गम्भीर अन्याय भएको दलित अगुवाहरूको भनाइ छ।
प्रहरी भूमिकामाथि प्रश्न, निष्पक्ष छानबिनको माग
दलित सरोकार मञ्च नेपालले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै झूटा मुद्दा तत्काल खारेज गर्न माग गरेको छ। साथै, जातीय भेदभाव तथा छुवाछूत मुद्दाका दोषीहरूलाई कानूनी कठघरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा न्याय सुनिश्चित नभएमा दलित समुदाय र मानव अधिकारकर्मीहरू सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूसँग ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।