माघ २३, २०८१ बुधबार
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा स्थापना गरिएको इजलासमा एक दम्पतीको मिलापत्र भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने निरज कुमार रौनियार र नन्दनी रौनियारबीच मिलापत्र भएको हो ।
करिब एक वर्ष अघिदेखि घरेलु हिंसाबाट पिडित रहेकी नन्दनीले जिल्ला प्रशासन कार्यालय पर्सामा आफु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् । श्रीमानले कुटपिट गरेर घरबाट निकालिदिएको भन्दै नन्दनीले उजुरी दिएकी थिइन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा भएको छलफलका क्रममा दुवै पक्षबीच सहमती भएको हो । अबदेखि कुनै पनि किसिमको हिंसा नगर्ने र मिलेर बस्ने मिलापत्र भएसँगै अब दुबै जना सँगै बस्ने भएका छन् । यसका साथै उनीहरुको नागरिकतादेखि बिहे दर्ता र ६ महिनाका छोराको जन्मदर्ता बनाउने प्रक्रिया पनि थालिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाअनुसार अहिले इजलासमा दिनहुँ ५ देखि ७ वटासम्म उजुरीमा छलफल हुने गरेको छ ।
विशेष गरी अभद्र व्यवहार, सार्बजनिक मुद्दा, मीटर ब्याज र ठाडो उजुरी धेरै आउने गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । पर्सामा प्रमुख जिल्ला अधिकारी भएर आएसँगै अर्यालले माघ १० गते पहिलो पटक जिल्ला प्रशासनमा इजलासको स्थापना गरेका थिए । इजलासबाट प्रशासनमा आउने उजुरी र मुद्दाको बहस र पैरवी गर्न सहजता भइरहेको छ । स्रोत :यात्रा डेली