वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका छन्।
निजी अस्पतालहरूको अनुगमन गर्ने क्रममा उक्त अस्पतालले अनुमति नलिई सञ्चालन गरिरहेको पाईएपछि मुख्यमन्त्री सिंहले तत्काल बिरामीलाई अन्यत्र स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न आदेश दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पतालले नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुर सहितको टोलीले वीरगञ्जका विभिन्न निजी अस्पतालहरूको अनुगमन गरिरहेको छ।
अनुगमनको क्रममा भवानी अस्पताल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा निरीक्षण गरिएको छ। भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न समेत निर्देशन दिइएको छ।
सरकारले अस्पतालहरूको नियमन कडा पार्ने नीति अनुरूप अनुगमनलाई तीव्र बनाउने जनाएको छ।



