अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी

रौतहट,फागुन,१०गते

रौतहट ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताले धर्ममाथि टक्कर दिन खोजेको आरोप लगाउदै अब ओली सरकार ठक्कर खाने उदघोष उनले गरे ।

रौतहटको राजपुर नगरपालिकामा आजपाद्धारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोज्ने जनस्तरबाटै विद्रोह हुने चेतावनी समेत दिए ।

‘मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुनेछन, यो देवताको भूमि हो । अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव, अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएको यो महोत्सव रोकिए जनस्तरबाटै विद्रोह हुन्छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रभु साह र यहाँकी मेयरले नेपाल भारत जोडन्े काम गरेको छ, केपी ओलीलाई किन डाह लागेको हो ?’

प्रधानमन्त्री ओलीबाट नेपालमा हिन्दू धर्म र आस्थामाथि एकपछि अर्को प्रहारको श्रृंखला चलेको आरोप लगाउदै उनले होलीवाईनको पाईन नदेखाउन चुनौति दिएका छन् । ‘होलीवाईनको पाईन नदेखाउन नदेखाउन म यही माटोबाट ओली एण्ड कम्पनीलाई चूनौति दिन चाहन्छु । प्रभु साहमाथिको प्रतिशोध महँगो सावित हुनेछ, किनकी म सत्य र जनताको पक्षमा छु ।

म इमानको राजनीति गर्नेसँग बेइमानहरुको तुलना हुँदैन्’, साहले भने । प्रधानमन्त्री ओली कुल्चिनमा माहिर रहेको बताउदै उनले संविधान, संसद र सडक सबैको साख स्वाहा पारेको आरोप लगाए । कांग्रेसको बुँई चढेर दुई तिहाईको दम्भ नदेखाउन बताउदै उनले सरकारले नै ल्याएको अध्यादेश पारित हुन नसकेर सरकारको औचित्य समाप्त भएको बताए ।

‘केपी ओली पिएम चेयरमा डिस्प्लेमात्रै हुन्, उनलाई प्ले गर्ने रिमोट देउवा दम्पत्तिको हातमा छ । केपी ओली कुल्चिन मात्रै माहिर हो । संविधान, संसद् र सडक सबैको साख स्वाहा पारे । कांग्रेसको बुईंँ चढेर दुई तिहाईको दम्भ देखाउँदैछन्, त्यही दुई तिहाईंले ओलीको घमण्ड निल्दैछ । ओलीमा शक्ति उन्मादको अन्तिम कर्कस चल्दैछ, एमाले भित्रभित्रै जल्दैछ’ साहले भने ।

नेपालमा ओलीले निन्जा टेक्निङ्ग देखाईरहेको बताउदै उनले यो कुरा बच्चालाई पनि थाहा भईसकेको बताए । ओलीमा घमण्ड र दमनको हावाले भरिएको बेलुन जनताले फुटाएरै छोड्ने आजपा अध्यक्ष साहले बताए । केपी ओलीबाट देशमा विकास र निकास दुवै असम्भव भएको बताउदै उनले जनकपुरमा उहिल्यैदेखि चलेको रेलबारे फेरि झेली कुरा गरेको आरोप लगाए । खासमा भन्ने हो भने केपी ओली बोकेको कांग्रेस अहिले निल्नु न ओकल्नु पर्ने अवस्थामा आईपुगेको उनले बताए ।

‘केपी ओली ठगहरुको सरदार र एमाले भ्रष्टहरुको भरोसाकेन्द्र बनेको छ । प्रजाबिनाको तन्त्र भयो, प्रजातन्त्र त चोर नेताको लागि ठगी खाने मन्त्र जस्तै भयो । देश दलतन्त्रको दलदलमा अनि मुलुक महासंकटमा पस्दैगयो । जनताबाटै असुरक्षित सरकारका नाईकेहरुबाट देशको के सुरक्षा होला ?’, उनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले भारत भड्काए, चीन चिढ्याए अनि अमेरिकासँग आशंका बढाएको साहले बताए । यस्तै एमालेले सार्वजनिक जग्गा कब्जा गर्ने र राज्यको सम्पत्ति अपचलनमा अगाडि रहेको आरोप उनले लगाए ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछु, काठमाडौंमा मात्रै एक हजार रोपनी जग्गा हिनामिना भएको छ । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परेको कुरा बाहिरिएको छ, किन यो अवस्था आयो ? ओली कहिल्यै सुध्रिएनन, यिनले केही नयाँ सिकेनन र पूराना केही बिर्सिएनन्’, उनले भने ।

ओलीको ज्यादती सहनेले मधेसको विकास गर्न नसक्ने बताउदै उनले मधेसवादी दलहरुलाई बेइज्जती सहरे सत्ता र सत्तापक्षमा नबसी बाहिर आउन सुझाव दिए । सरकारलाई समर्थन दिने, सरकारमै बस्ने र सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै सत्ता गठबन्धनमा किन टासिराख्नुपर्ने भन्दै उनले प्रश्न गरे ।
‘मधेस दिनदिनै मासियो । चोर नेताको कारण मधेसको विकास पातालमा भासियो । महन्थ ठाकुर, उपेन्द्र यादव, सिके राउतहरु बेइज्जती सहेर सत्ता र सत्ता पक्षमा बस्नुपरेको छ । ओलीको ज्यादती सहनेले के मधेशको विकास गर्छन् ? अध्यादेशको विरोध गर्छन अनि सत्ता गठन्धनमा टाँसिएका छन् । मधेसी जनताको भावनाको कदर गर्ने हो भने म उहाँहरुलाई सरकारबाट तत्काल बाहिरिन सुझाव दिन्छु । ओलीको शासन ठीक छैन भनेर भाषण गर्ने अनि सत्तामै टाँसिएर बस्नु नैतिकवान होईन्’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!