रौतहट,१२गते
रौतहट । प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रिफर गरिएका एक बिरामीको मृत्यु भएको छ। गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको पेट दुखेर उनका आफन्तले गौर स्थित प्रादेशिक अस्पतालमा उपचारका लागि शनिबार लगेका थिए।
मृतकका काका देवेन्द्र अधिकारीका अनुसार लालुलाई पेट दुखेर उपचारका लागि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताएका थिए। उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै उनले अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएको देवेन्द्रको भनाइ छ।
त्यसपश्चात् डाक्टर पंकजले आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पुर्याएको देवेन्द्रले बताए। अप्रेसन गरेको केहीबेरमै बिरामीको अवस्था गम्भीर रहेको भन्दै आफूहरूलाई फोन आएको उनले जानकारी दिए।आफूले प्रादेशिक अस्पतालका डाक्टर ठाकुरलाई बोलाएर देखाउँदा अक्सिजनसहित एम्बुलेन्समा राखेर नेशनल मेडिकल कलेज वीरगंज लग्न सुझाव दिएको देवेन्द्रको भनाइ छ। शनिबार राति करिब ११ बजे बिरामीलाई नेशनल मेडिकल कलेज पुर्याउँदा डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरेको उनले बताए।
उपचारमा संलग्न डाक्टर फिरोज अन्जुम, पंकज साहसहितको टीम सम्पर्कविहीन रहेको बताउँदै मृतकका काका देवेन्द्रले घटना शंकास्पद रहेकाले छानबिन गर्न माग गर्दै दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाही हुनुपर्ने बताएका छन्।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अप्रेसनका लागि प्रादेशिक अस्पतालबाट बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने नै अनुसन्धानको विषय भएको प्रतिक्रिया दिए।



