आरके श्रीवास्तव,गरुडा,११ गते वैशाख ।
रौतहटको दुइ वटा नापी कार्यालयमा ‘मेरो कित्ता’ प्रणाली अझैं लागू हुन सकेको छैन् । जिल्लाको चार ठाउँ गौर,गरुडा,मौलापुर र चन्द्रपुरमा नापी कार्यालयको सेवा केन्द्र रहेको छ । जसमध्ये दुइ ठाउँ चन्द्रपुर र मौलापुरमा मात्रै ‘मेरो कित्ता’ लागू छ ।
सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था शुरु गरेको थियो । घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने मेरो कित्ताको शुभारम्भ गरिएको थियो । डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको लागू गरिएको थियो ।
नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो ।
यस विषयमा नापी कार्यालय गरुडाका प्रमुख इ.यशवन्त सिंहले भन—‘यो प्रणाली लागू गर्ने सरकारको हातमा हुन्छ । सरकारको निती अनुसार नेलिस प्रणाली लागू भएपछि मात्रै मेरो कित्ता सुचारु हुने हो । ’ उनले भने—यस वर्ष यो प्रणाली लागू गराउन पहल गर्दैछौं । सम्भवतः यसवर्ष देखि गरुडामा लागू हुनेछ ।
उता नापी कार्यालय गौरका प्रमुख मोहन महासेठले भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले हरेक वर्ष नेलीस सिस्टम लागू गर्न बजेट छुट्टयाउने गरेको बताए । मन्त्रालयले नै कुन नापी कार्यालयमा यो प्रणली लागू गर्ने निर्धारण गर्ने गर्दछ । यो हाम्रो हातमा हुँदैन् । यसका लागि हामी पहल गर्दैछौं ।
नापी विभागको वेबसाइट वा गुगलमा मेरो कित्तामा गएर लगइन गरी नक्सा निकाल्न सक्ने छिटो, छरितो प्रविधि हो । यो लागू भयो भने सेवाहग्राही धेरै लाभान्वीत हुने छन् ।
तर दुर्भाग्यवश गरुडा र गौर क्षेत्रका जनप्रतिनीधी र नेताहरुको ध्यान नै छैन् । नापी कार्यालय स्थापनाको वर्षौ बितिसक्दा पनि यो प्रणाली लागू गराउन कसैले पहल नै नगरेको देखिदैन् । बजेट चलाउनमा मस्त जनप्रतिनीधीको ध्यान कहिले जाला ? यसलाइ चाँडो भन्दा चाँडो लागु गर्न स्थानियहरुले माग गरेका छन् ।



