जेष्ठ ,३१गते
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मोन्टेश्वरी र पूर्व प्राथमिक तहसमेत) अत्यधिक गर्मीका कारण मिति २०८२ असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्मका लागि बन्द गरिएका छन्।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको सूचना सार्वजनिक गरेको हो। विदा वर्षे सट्टे विदाबाट मिलान गरिने जनाएको छ।
सूचनामा विद्यालय प्रशासन भने नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ। बन्दको अवधिमा विद्यालयको प्रशासनिक कार्य सन्चालनमा कुनै अवरोध नआउने गरी व्यवस्थापन गर्न भनिएको छ।उक्त सूचना प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेका हुन्।
सूचना वीरगञ्ज महानगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला निकायहरूलाई बोधार्थ पठाइएको छ।महानगरपालिकाले सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सहजीकरणका लागि समयमै जानकारी लिन र आवश्यक तयारी गर्न अनुरोध गरेको छ।



