वैशाख ,३०गते
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको घटनाले सनसनी फैलिएको छ। मृतकका माइती पक्षले दाइजोको लागि हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।
कटहरिया नगरपालिका–५ बजार क्षेत्रस्थित घरमा बस्दै आएका अहमद राय भाटकी २१ वर्षीया पत्नी सानिया प्रविन आफ्नै कोठामा साडीको पासोमा झुण्डिएको अवस्थामा आइतबार दिउँसो फेला परेकी थिइन्। कटहरिया नगरपालिका–३ बडेरवा स्थायी घर भएकी सानियाको विवाह मुसलमान धर्म अनुसार करिब छ महिनाअघि अरमान राय भाटसँग भएको थियो।
मृतककी आमा कायमा खातुनका अनुसार, विवाहपछि सानियामाथि निरन्तर दाइजोको लागि मानसिक र शारीरिक यातना दिइएको थियो। उनले छोरीलाई योजना अनुसार हत्या गरी आत्महत्या देखाउन खोजिएको आरोप लगाएकी छिन्।
घटनाको जानकारी पाउँदै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त टोली घटनास्थलमा पुगेको थियो। पोष्टमार्टम पछि शव मृतककी आमाले बुझेर भारतको बिहारस्थित घर लगिएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अहिले आत्महत्या दुरुत्साहनको कोणबाट छानबिन भइरहेको बताएका छन्। “पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप निष्कर्ष निकालिन्छ,” उनले भने।
मृतकका माइती पक्षले छोरीको मृत्युको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्। उनीहरूले यस घटनालाई आत्महत्या होइन, योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
यो घटना दाइजो प्रथाले नेपाली समाजमा अझै कति गहिरो असर पारेको छ भन्ने प्रमाणको रूपमा देखिएको छ। अहिले पनि महिला हिंसाका यस्ता घटनाहरूमा पीडितले न्याय पाउने वातावरण सुदृढ गर्न व्यापक जनचेतना र कानुनी कडाइ आवश्यक देखिएको छ।



