करण कुमार मिश्र
रौतहट ,मंसिर २६ गते
रौतहटको गरुडा नगरपालिका-५ स्थित प्रसिद्ध धार्मिक स्थल शिवनगरमा नेपाल सोनार समाजको धर्मशाला भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नेपाल सोनार समाज रौतहटले एतिहासिक एवं धार्मिक नगरी शिवनगरमा धर्मशाला बनाउन लागेको हो । धर्मशाला भवनको बुधबार एक कार्यक्रम बीच गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल र नेपाल सोनार समाज रौतहटको अध्यक्ष कामेश्वर प्रसाद साह सोनारले संयुक्त रूपमा उद्घाटन गरेका छन्
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले धर्म कर्म गर्न आउने व्यक्तिहरुको गाडीमै सुत्नुपर्ने बाध्यता, सडक छेउमा खाना पकाउनुपर्ने अवस्थामा परिवर्तन ल्याउन धर्मशाला निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘धर्मशाला हाम्रो परम्परा हो यस्को संरक्षण र संवद्र्धन गर्नुपर्छ ।’
नेपाल सोनार समाज रौतहटले करोडौंको लगानीमा दुई तले आठ कोठे सुविधासम्पन्न धर्मशाला निर्माण गर्ने योजना रहेको सोनार समाज रौतहटका अध्यक्ष कामेश्वर साहले जानकारी दिए । स्थानीय सरकारको सहयोग र दाताहरुको सहयोगबाट धर्मशाला भवन निर्माण सुरु गरिने उनले बताए ।
सो धर्मशाला निर्माणकार्यको लागि गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले १५ लाख पालिका बाट उपलब्ध गराउने प्रतिबद्धता जनाए । त्यसतै सोहि नगरपालिका -५ का वडा अध्यक्ष रामबिनोद साहले पनि वडा स्तरीय बजेट बाट दुई लाख दिने घोषणा गरेका हुन ।
त्यसतै देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुले एक लाख रुपैयाँ बराबरको ईट्टा उपलब्ध गराउने घोषणा गरेका हुन् भने कटहरिका नगरपालिका -४ का वडा अध्यक्ष चन्दन कुशवाहाले पनि एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् भने तेली समाजद्वारा समेत २५ हजार सहयोग लगायत दाताहरुको आर्थिक सहयोग बाट उक्त धर्मशाला निर्माण हुने नेपाल सोनार समाज रौतहटका अध्यक्ष कामेश्वर साहले जानकारी दिएका हुन ।