बिरगंज,पुस,९गते
बिरगंज । बिरगंज महानगरपालिका-३ प्रगति नगर टोलस्थित एक किराना पसलबाट ठुलो परिमाणमा लागूऔषध ट्रामाडोलको बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय छपकैया र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेड क्वाटर चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसलमा छापा मारेको थियो ।
छानबिनका क्रममा लुकाई छिपाइ राखिएको अवस्थामा १ लाख ५१ हजार ८ सय ६० वटा ट्रामाडोल ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषधसहित सृष्टि किराना जनरल स्टोरका सञ्चालक ३८ वर्षीय राजाराम महतो कोइरीलाई समेत नियन्त्रणमा लिएको
प्रहरीका अनुसार उक्त किराना स्टोरमा अवैध लागूऔषधको खरिद-बिक्री तथा भण्डारण भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो । पक्राउ परेका महतोको विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले लागूऔषधको अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिएको छ ।