रुपेन्द्र पटेल
रौतहट,पुस २० गते
कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तले प्रहरीलाई आत्मसमर्पण गरेका छन् ।जिल्लाको राजदेवी नगरपालिकाका वडा नं-१ निवासी रामनरेश राय यादवले जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
आफै प्रहरीमा गएर आत्मसमर्पण गरेपछि यादवलाई रौतहट जिल्ला अदालतमा पेश गर्दै थप अनुसन्धानका लागि प्रहरीले म्याद लिइएको हो ।२०७९ साल फागुन २४ गते साँझ साढे पाँच बजेको समयमा सोही स्थानका २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको घटनामा यादव मुख्य अभियुक्तको रूपमा फरार रहेका थिए ।
यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले यादवको परिवारलाई सहयोग गर्न कानूनी परामर्श प्रदान गरेको थियो । परामर्शले सजायमा छुटको व्यवस्था रहेको जानकारी गराएपछि यादव अभिप्रेरित भई बुधबार आत्मसमर्पण गरेको थियो ।
यादव प्रहरी प्रहरी समक्ष बुधबार नै हाजिर भएपनि शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय रौतहटले औपचारिक रूपमा सार्वजनिक गरेको छ । प्रेस विज्ञप्ति मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको जानकारी दिँदै अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।
यो घटनाले कानूनी प्रक्रियाको प्रभावकारिता र प्रहरीको अनुसन्धान क्षमताको झल्को दिनुका साथै फरार प्रतिवादीलाई आत्मसमर्पण गराउन कानूनी परामर्शको महत्त्व देखाएको छ । अनुसन्धान सम्पन्न भएपछि यादवविरुद्ध कस्तो कानूनी कारबाही हुने हो, त्यसमा सबैको ध्यान केन्द्रित छ ।