रौतहटको गौरमा बानेश्वरनाथ मन्दिर बुद्धकालीन अवशेषहरू फेला

२२ पुस, रौतहट।

रौतहटको गौरमा बुद्धकालीन अवशेषहरू फेला परेका छन् ।प्राचीन बानेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा बुद्धकालीन अवशेषहरू फेला परेको पुरातत्वविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए ।

गौर नगरपालिका-२ मा रहेको उक्त मन्दिर क्षेत्रमा नगरपालिकाको पहलमा पुरातत्व विभागको टोलीले १२ दिनदेखि उत्खनन गरिरहेको छ ।उत्खननको क्रममा सोमबार देशमा अहिलेसम्म नपाइएको औंलाको छाप भएको इँटा भेटिएको तिवारीले जानकारी दिए ।

‘मैले धेरै ठाउँमा उत्खनन गरेको छु । धेरै अवशेषहरू भेटिएका छन् । तर, यहाँ पाइएको औंलाको छाप भएको इँटा पहिलो पटक भेटिएको हो । त्यस्ता इँटाहरू अनुमानित १५/२० प्रतिशत भेटिने गरिएको छ,’ पुरातत्वविद् तिवारीले अनलाइनखबरसँग भने ।

उत्खननको क्रममा दुईवटा बुद्धकालीन इँटा, बुट्टा काटेको इँटाहरू पनि भेटिएको उनले बताए ।उत्खननको क्रममा भेटिएका इँटाहरू सिम्रोनगढ दरबार तथा छेउछाउ भेटिएका इँटा जस्तै रहेकोले यो अवशेष धेरै पुरानो भएको उनले बताए ।

झन्डै एक महिना अघि बाराको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर स्थित बलकिया माई मन्दिरको उत्खनन क्रममा भेटिएका इँटाको आकार जस्तै इँटा यहाँ पनि फेला परेको उनले बताए ।

बानेश्वरनाथ मन्दिर छेउमा चार ठाउँमा उत्खनन भइरहेको छ । त्यस क्रममा केही प्राचीनकालीन माटोको भाँडो कुरुवाको टुक्रा, बच्चाले खेल्ने घोडाको टुक्राको अवशेष पाइएको तिवारीले बताए ।

‘चार ठाउँमा उत्खनन गर्दा भेटिएको इँटासहितको अवशेषको प्रमाणको आधारमा भन्न सक्छौं यो सयौं वर्षअघि यो समृद्ध पर्यटकीय स्थल थियो,’ उनले भने ।

‘मैले चुनावताका नै यो मन्दिरलाई उत्खनन गराएर पुरातात्विक संरचना संरक्षण गर्ने उद्देश्य थियो । सोही उद्देश्य अनुसार समन्वय गरेर पुरातत्व विभागको टोली आएर उत्खननको काम अघि बढिरहेको छ’ गौर नगरपालिकाका मेयर शम्भु साहले भने ।

उत्खनन भइ प्राप्त भएको संरचना संरक्षण गर्दै यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयको चाहना अनुसार अघि बढ्ने मेयर साहको भनाइ छ ।पुरातत्वविद् तिवारी नेतृत्वमा आएको तीन सदस्य टोलीले अझै आठ दिन उत्खनन गरेर १५ दिनभित्र नगरपालिकालाई प्रतिवेदन पेस गर्ने उनले बताए । स्रोत : अन्लाईन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!