बौद्धिमाई नगरपालिका मेयर यादवको मनोमानी र भ्रष्टाचारको विरोधमा स्थानीयवासीद्वारा प्रदर्शन

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदीप यादवको मनोमानी र भ्रष्टाचारको विरोधमा स्थानीयवासीले कडा प्रदर्शन गरेका छन् ।

बौद्धिमाई नगरपालिकाको बंकुल बजारस्थित कार्यालय अगाडि जम्मा भएका स्थानीयले “भ्रष्टाचारी मेयर मुर्दावाद”, “दोषीलाई कारबाही गर” जस्ता नाराबाजी गर्दै कार्यालयको घेराउ गरेका हुन् ।

स्थानीयहरूका अनुसार मेयर यादवले मापदण्ड नबनाई एकतर्फी निर्णय गर्दै विपक्षीका घर भत्काउने, सडक विस्तारका नाममा नागरिकलाई दुःख दिने, र बल प्रयोग गरेर डर धम्की दिने काम गरेका छन्। यसले गर्दा सर्वसाधारणमा असन्तोष चुलिएको छ ।

स्थानीय अगुवा तथा पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मेयर यादवले मनोमानी कार्य गर्दै घर तोडफोड गर्ने, स्थानीयलाई लाठी लगाएर कुटपिट गर्ने र आफ्ना निर्णयलाई कसैले चुनौती नदिन धम्की दिने आरोप लगाए । उनले भने, “मेयर यादवले प्रहरी, प्रशासन, न्यायालय सबै आफ्नो मुठ्ठीमा रहेको दाबी गर्दै नागरिकलाई थर्काउने गरेका छन्। यो पूर्ण रूपमा गलत र गैर कानुनी हो ।”

पटेलका अनुसार सरमुजवा गाउँमा सडक विस्तारको नाममा मेयरले विपक्षीको मात्र घर तोडफोड गर्दै भेदभावपूर्ण व्यवहार गरेका छन् ।आन्दोलनकारीहरूले मेयर यादवले विभिन्न आयोजना र बजेटमा गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, दोषीमाथि कानुनी कारबाही हुनुपर्ने, र नगरपालिकाभित्र पारदर्शी र न्यायपूर्ण प्रशासन व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय गङ्गाराम बैठकलाई रौतहट अदालतले थुनामा पठाउने निर्णय गरेपछि मेयरले न्यायालयलाई समेत आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै धम्की दिएको स्थानीयहरूले बताएका छन् ।

आन्दोलनकारीहरूले सरकार र सम्बन्धित निकायसँग बौद्धिमाई नगरपालिकामा भएका अन्यायपूर्ण गतिविधिको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र पीडितहरूलाई न्याय दिलाउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!