रौतहटको कटहरिया नगरपालिका -१ भसेढवामा नवविवाहिता महिलाको हत्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा गाउँमा नवविवाहिता महिला आलका यादवको हत्या भएको भन्दै माइती पक्षले श्रीमान र उनका परिवारका सदस्यमाथि गम्भीर आरोप लगाएको छ।

मंगलवार राति घरमै घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतक आलकाको विवाह यही वर्ष भसेढवाका अंकेश यादवसँग रौतहटकै फतुवा विजयपुर नगरपालिका–९, बडहर्वाकी रामनारायण यादवकी छोरीका रूपमा भएको थियो।

माइती पक्षले दाइजोका लागि पटक–पटक यातना दिइएको र अन्ततः हत्या गरिएको दाबी गरेको छ। पीडित आमाले भनिन्, “दाइजो नपाएको निहुँमा मेरी छोरीमाथि मानसिक र शारीरिक रूपमा सताइन्थ्यो, अन्ततः आज उनीहरूकै हातबाट मेरी छोरी मारिइन्।”

घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले ससुरा पुकार राय यादवलाई नियन्त्रणमा लिएको छ भने श्रीमान अंकेश यादव भने हालसम्म फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतक आलकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रामकुमार महतोले जानकारी दिएका छन्।

यसैबीच, पछिल्ला दिनमा रौतहट जिल्लामा घरेलु हिंसा तथा महिलामाथिको दमनका घटनाहरू बढ्दो क्रममा रहेको भन्दै नागरिक समाज तथा अधिकारकर्मीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!