स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर

पछिल्लाे समाचार

रूपन्देही फागुन २गते
स्थानीय तहमा निर्वाचित भएको ५ वर्ष पुरा हुँदै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरू एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढिरहेको छ।

सोमबार रूपन्देहीका दुई वटा पालिका अध्यक्ष, उपाध्यक्षसँगै केही वडाअध्यक्षहरू यसअघिको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्।

जिल्लाको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादवसँगै ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’ र उपप्रमुख सुन्दरीमती कुमारी हरिजन एमालेमा प्रवेश गरेका हुन्।उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीमा सोमबार स्वागत गरेका छन्।

यादव यसअघिको निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। केवट र हरिजन भने नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

यादव नेपाली कांग्रेसका नेता एवं रूपन्देहीको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रमोद यादवका सहोदर भाइ हुन्।

यादवले गाउँपालिका अध्यक्षको आफ्नो ५ वर्षे कार्यअवधिमा तुलनात्मक रुपमा आलोचना खेप्नु नपरे पनि केवट भने सुरुदेखि नै आलोचित बन्दै आएका थिए।

गतसाता मात्रै अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर भएका रजत प्रताप शाह नेपाली कांग्रेस प्रवेश गरेका थिए।

गत साता नै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बल्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि नेकपा एमालेमा प्रवेश गरेका थिए।

पत्नी पल्लवी शुक्लालाई लिएर एमाले प्रवेश गरेसँगै एमालेले पल्लवीलाई रुपन्देही क्षेत्र नम्बर ४ ’ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो। यद्दपी उनी पराजित भएकी थिइन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!