यातायात व्यवस्था कार्यालय रौतहटमा भ्रष्टाचार र बेथितिको अखडा बन्यो

रौतहट । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणजस्तो संवेदनशील काम करारका पियन र सरसफाइकर्मीको भरमा सञ्चालन भइरहेको खुलासा भएको छ। कार्यालय प्रमुख जितेन्द्रकुमार गुप्तामाथि अवैध रकम असुलीमा संलग्न रहेको गम्भीर आरोप लागेको छ।

कार्यालयका सरसफाइकर्मी पिन्टु सिंह उर्फ रोशन सिंह प्रमुखका “हर्ताकर्ता”का रूपमा चिनिँदै आएका छन्। उनी सेवाग्राहीसँग रकम असुली गरी ट्रायल तथा लिखित परीक्षा बिना नै लाइसेन्स पास गराउने कार्यमा संलग्न रहेको बताइएको छ। स्रोतका अनुसार, दुई पाङ्ग्रे सवारीको लाइसेन्सका लागि १० हजार र चार पाङ्ग्रे सवारीको लागि १५–२५ हजार रुपैयाँसम्मको बार्गेनिङ हुने गरेको छ।

कार्यालयका अन्य कर्मचारीहरूले समेत चोरीका भारतीय सवारीसाधनलाई अवैध रूपमा नेपालीकरण गराउने कार्यमा सिंहको संलग्नता रहेको आरोप लगाएका छन्। यी सबै गतिविधिमा कार्यालय प्रमुख गुप्ताको मौन सहमति रहेको आशंका गरिएको छ। गुप्ता केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन नक्साल गएका पनि बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरसँग स्मार्ट लाइसेन्स जाँच गर्ने उपकरण नहुँदा, पटक–पटक जरिवाना तिरेका चालकहरू सजिलै पास हुने गरेका छन्। साथै, सरसफाइकर्मी मञ्जु देवी र कार्यालय सहयोगी वीरेन्द्र यादवका छोरा रोहन यादव पनि गैरकानुनी रूपमा लाइसेन्स वितरण प्रक्रियामा संलग्न रहेको आरोप छ।

स्थानीय तहमा बढ्दो उजुरी र गुनासोका बाबजुद सम्बन्धित निकायले अझैसम्म छानबिन र कारबाही नगर्नु प्रशासनिक लापरबाही र निष्क्रियताको संकेत मानिएको छ। सार्वजनिक सेवा प्रणालीमा बढ्दो अनियमितताप्रति नागरिकले गम्भीर चासो व्यक्त गरेका छन्। स्रोत :यात्रा डेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!