काठमाडौं मंसिर २१गते
काठमाडौँ —विदेशी खेलाडीद्वय शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । कर्णालीले शुक्रबार पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो ।
तर कर्णालीको विजय सहज रहेन । विशेषगरी सोहेल तनवीरले १९ औं ओभरमा २ रनमात्र दिएपछि कर्णालीलाई अन्तिम ओभरमा विजयका लागि ९ रन चाहिन्थ्यो । अर्जुन घर्तीले रिजन ढकालको पहिलो तीन बलमा २–२ गरेर ६ रन जोडे । चौथो बलमा उनी ११ रनमा रनआउट भए । अन्तिम २ बलमा ३ रन चाहिने अवस्थामा जिसन मक्सुदले चौका प्रहार गरी कर्णालीलाई जिताए ।
धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि याक्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ३१ रनको लक्ष्य १ बल अगाडि पूरा गर्यो । तेस्रो खेलमा आएर कर्णालीले पहिलो विजय हात पारेको हो । चितवनले तेस्रो खेलमा पहिलो पराजय भोगेको हो । ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे । वाल्टनले ३ छक्का प्रहार गरे । धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए ।
यसअघि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीलाई १८ औं ओभरमा लगातार दुई चौका प्रहार गरी उनले आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले कुल ७ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका अर्का भेट्रान शरद भेषावकर ३ बलमा ६ रन बनाई अविजित रहे ।
सोमपालले इनिङ्सको पहिलो बलमा लुक बेन्केन्स्टेनलाई शून्यमा बोल्ड गरेका थिए । दीपक बोहरा ८, विपिन रावल ११ रनमा आउट भए । बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटमा ४९ बलमा ६० रन जोडेका थिए । मल्लले २७ बल खेली २ चौका र १ छक्कासहित २३ रन बनाए ।
देब्रेहाते स्पिनर विपिन शर्माले ४ ओभरमा २१ रनमात्र खर्चेर ३ विकेट लिए । उनले १७ औं ओभरमा यान निकोलास लफ्टी इटोन (९) र सोहेल तनवीर (०) लाई आउट गरेका थिए । १९ औं ओभरमा उनले अमरसिंह राउटेलालाई ९ रनमा बोल्ड गरे । जिसन मक्सुदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।



