रौतहट । पूर्व राजा ज्ञानेन्द्र शाहको हालैको अभिव्यक्तिको समर्थनमा गौरको घण्टाघर नजिक दीप प्रज्वलन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला सदस्य सचिव बिक्रान्त नेपालको अनुसार, फागुन ७ गते पूर्व राजा शाहले व्यक्त गरेको विचार सत्य रहेको भन्दै रौतहटको नागरिकहरूले दीप प्रज्वलन गरी समर्थन जनाएका हुन्।
बिक्रान्त नेपालले “प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा जनताले अपेक्षित विकास र समृद्धि अनुभव गर्न सकेनन्। बेरोजगारी बढेको छ, युवा विदेश पलायन भइरहेका छन्, भ्रष्टाचार मौलाउँदै गएको छ, अपराध नियन्त्रण हुन सकेको छैन, जबकि सत्तामा रहनेहरू मोजमस्तीमा रमाइरहेका छन्।”उनले पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको वास्तविक पीडा बोलेको हुनाले आफ्नो समर्थन रहेको बताए।
दीप प्रज्वलन कार्यक्रममा राप्रपाका स्थानीय पदाधिकारीहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उनीहरूले पूर्व राजाको समर्थनमा नाराबाजी समेत गरेका थिए।



