रौतहट,चैत,२२गते
रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ ।
स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो ।
बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर लास गाडेका थिए ।
‘जंगल छेउमा बनाएको गोठबाट फर्कदै गरेकी फुलमतिया देवीको विद्युतीय धरापमा करेन्ट लागेर मृत्यु भएपछि दुवै जनाले जंगलमा गाडेका थिए।’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘चैत्र १४ गते हराएकी महिलाको शव १९ गते गाडिएको अवस्थामा फेला परेको हो।’
प्रहरीले महिलाको खोजतलास गर्ने क्रममा उनको घर नजिकै मकै बारीमा महिलाको चप्पल र बिजुलीको तारफेला परेपछि दुवैलाई पक्राउ गरेको उपरीक्षक घिमिरेले बताए ।
पक्राउ परेका दुवैलाई प्रारम्भिक अनुसन्धान पश्चात कर्तव्य ज्यान तर्फ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।



